
काठमाडौं, १५ भदौ । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामूलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ले आफ्नो सेवामूलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रममार्फत स्मरण गरेको छ । अगस्ट ३० मा सम्पन्न कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थाको १० वर्षको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरिएको थियो भने “हाम्रा पाइलाहरू” नामक छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । यी दुवै माध्यमहरूमार्फत् ‘एक एक पाइला’को यात्रामा संलग्न व्यक्तिहरू, संस्थाले प्रदान गरेको सेवा र त्यसबाट लाभान्वित भएका समुदायहरूको कथा अभिलिखित गरिएको थियो ।
सन् २०१५ मा आएको विनाशकारी भूकम्पपछि सुरु भएको सानो स्वास्थ्य अभियान आज नेपालको विभिन्न भूभागमा परिचित संस्थाको रूपमा परिणत भएको छ । सर्वसाधारण नागरिक, स्वयंसेवी चिकित्सक, सामाज कल्याण परिषद्, स्थानीय तह, प्रादेशिक स्वास्थ्य कार्यालय, सुरक्षा निकाय तथा साझेदार संस्थाहरूको निरन्तरको साथ र सहयोगमा ‘एक एक पाइला’ले ३४ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य केन्द्र र अस्पतालहरू समेत स्थापना गर्न सफल भएको छ ।
संस्थाले आँखारोगको उपचार, दन्तरोगको उपचार, मातृ स्वास्थ्य सेवा, हाडजोर्नी सम्बन्धी रोग, रेडियोलोजी, क्षयरोगको उपचारदेखि लिएर सामान्य स्वास्थ्य परामर्शसम्मका सेवाहरू उपलब्ध गराउँदै आएको छ । सङ्कटको समयमा, विशेष गरी कोभिड–१९ महामारीको प्रतिकुल परिस्थितिमा, संस्थाका स्वयंसेवक र समर्थकहरूले जोखिम मोलेर विपन्न समुदायसम्म पुगेर हजारौँ मानिसलाई अत्यावश्यक औसधी उपचार र प्राणरक्षक स्वास्थ्य सेवाहरू उपलब्ध गराएका थिए ।
१०औं वार्षिकोत्सव कार्यक्रमले संस्थाको विगतको योगदानलाई स्मरण गर्ने अवसर प्रदान गर्नुका साथै यसले गर्ने आगामी यात्राको दिशाबारे विचार मन्थन र संकल्प गर्ने मौका पनि प्रदान गर्यो । कार्यक्रममा विगत एक दशकमा ‘एक एक पाइला’सँगै हिँडेका, यसलाई समर्थन गरेका वा यसबाट स्वास्थ्य लाभ लिएका व्यक्ति र संस्थाहरूको अर्थपूर्ण उपस्थिति रहेको थियो ।








प्रतिक्रिया