
काठमाडौं, १५ भदौ । हमासको कब्जामा रहेका बन्धकहरू फिर्तीको माग गर्दै इजरायली किशोरकिशोरीहरू सडकमा उत्रेका छन् । इजरायली अखबार जेरुसलेम पोस्टका अनुसार आइतबार देशको उत्तरी आयालोन राजमार्गमा दर्जनौं ‘टीनएजर्स’ले सडकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले सरकारको बन्धकसम्बन्धी निष्क्रियताको विरोध स्वरूप देशभरका उच्च माध्यमिक विद्यालयहरू बन्द गर्ने घोषणा गरेका छन् । विद्यार्थीहरूको संगठनले बन्धकहरू अझै गाजामा रहेको अवस्थामा विद्यालयको शैक्षिक सत्र सुरु हुन नदिने पनि बताएको छ ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्तो दिनचर्यामा बाँच्न तयार छैनौँ, जहाँ बन्धकहरू हमासको सुरुङमा मारिएका छन् । इजरायली सरकारले अगाडि नै रहेको सम्झौताबारे छलफल गर्नसमेत जरुरी ठानेको छैन । त्यसकारण, हामी विद्यालय सुरु हुन दिने छैनौँ ।’
उनीहरूले भनेका छन्, ‘आज हामी उच्च माध्यमिक विद्यालयका विद्यार्थी हौं, एक वा दुई वर्षमा हामी सबै सेनामा सामेल हुनेछौं । हामी चाहन्छौं र आवश्यक छ– जब हामी अग्रिम मोर्चामा जानेछौं, हाम्रो देश हाम्रो पछाडि उभिनेछ र हामीले पालन गरेका नैतिक र नैतिकताका सिद्धान्तको सम्मान गर्नेछ । हामी निरन्तर परित्याग स्वीकार गर्ने छैनौं । हामी बन्धकहरूको लागि लड्नेछौं, हामीले पालन गरेका मूल्यहरूको लागि लड्नेछौं, हाम्रो भविष्यको लागि लड्नेछौं, र अन्तिम बन्धक घर फर्केसम्म हार मान्ने छैनौं ।’
किशोर–किशोरीहरूले इजरायली सरकारलाई तत्काल कदम चालेर सम्झौता अघि बढाउन, सबै बन्धकहरू फिर्ता ल्याउन र युद्ध अन्त्य गर्न आग्रह पनि गरेका छन् ।








प्रतिक्रिया