
काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशको सम्बन्ध सुधार गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएका मोदीसँगको आजको भेटमा चिनियाँ राष्ट्रपति सीले सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई देशहरूबीच सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सीले चीन र भारतको सम्बन्धलाई फेरि पनि ड्रागन–हात्ती नृत्य भनेका छन् । सांस्कृतिक रूपमा चीनलाई ड्रागन र भारतलाई हात्तीका रूपमा चित्रण गरिन्छ । मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए ।
सीसँग भेटका क्रममा मोदीले चीनमा सीधा हवाई उडान शुरू गर्ने घोषणा पनि गरेका छन् । कोभिड महामारीका कारण सन् २०२० को शुरूदेखि दुई देशबीचका उडान बन्द भएका थिए । सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो ।
गएको वर्षको अन्त्यदेखि दुई देशको सम्बन्ध सुध्रिन थालेको हो । पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि चीन–भारत सम्बन्ध थप सुधारको बाटोमा छ । भारतले चिनियाँ नागरिकलाई पर्यटक भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेको छ भने चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ ।








प्रतिक्रिया