२९ जेष्ठ २०८३, शुक्रबार

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ भदौ । इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् ।

हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।

समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको बताए पनि यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

शनिबार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन्।

बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य केही व्यक्ति घाइते भएका उल्लेख गरिएको छ ।

एएफपीका अनुसार, अल–रहावीलाई अन्तिम पटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन्। उनलाई इजरायलले निशाना बनाएको हो ।’

वक्तव्यमा आक्रमणमा घाइते भएका उनका केही सहयोगीहरूको अस्पतालमा उपचार भइरहेको पनि उल्लेख छ । यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको उल्लेख गरेको थियो । तर महदी मशातको वक्तव्यबाट हुथी विद्रोहीहरूको रक्षा मन्त्री मारिएका मध्ये परेका छन् वा छैनन् भन्ने प्रष्ट हुन सकेको छैन ।

अहमद अल–रहावी झन्डै एक वर्षअघि प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उप–प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार दिइएको छ ।