२४ असार २०८३, बुधबार

सर्पदंशको उपचारमा अब्वल भेरी अस्पताल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १४ भदौ । बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ ।

सर्पदंशको उपचारलाई प्रभावकारी बनाउँदै भेरी अस्पतालले सोबाट हुने मृत्यु दरलाई शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै विरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष भने उपचारका क्रममा कसैको पनि मृत्यु हुन नपाउनु चिकित्सकहरुको लागि मात्र नभई यस क्षेत्रकै लागि उत्साहजनक उपलब्धि बनेको भेरी अस्पतालका चिकित्सकको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी समेत रहनुभएका इमरजेन्सी विभागका इन्चार्ज डा. संकेतकुमार रिसालका अनुसार यो वर्षको पछिल्ला तीन महिनामा ४५० जनालाई सर्पले टोकेर उपचारका लागि अस्पताल ल्याइएको तथ्याङ्क छ । तीमध्ये करिब ८० प्रतिशत बिरामीलाई विषरहित सर्पले टोकेको र बाँकी २० प्रतिशत बिरामीलाई कडा विषालु सर्पले टोकेको हुँदा एन्टिस्नेक भेनुमको प्रयोग गरिएको छ ।

भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४५० जना विरामीमध्ये उपचारका क्रममा एक जनाको पनि मृत्यु नभएको जनाउँदै सूचना अधिकारी डा. रिसालले यो अस्पतालको निकै ठुलो उपलब्धी भएको बताए ।

उनले अस्पताल पुग्नुअघि दुई जना विरामीले भने बाटोमै ज्यान गुमाएको पनि बताए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा ल्याइएका सबै सर्पदंशका विरामी भने सुरक्षित हुन सफल भएको जनाउँदै विरामी समयमै अस्पताल आउनु तथा चिकित्सकहरूको राम्रो उपचार तयारी र उत्कृष्ट व्यवस्थापनका कारण उपचारका लागि आएका कसैको पनि ज्यान नगएको बताए ।

नेपालमा करिब ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु छन् । विषालु सर्पमध्ये मुख्यगरी गोमन, करेट र भाइपर तीन किसिमका सर्प धेरै विषालु छन् । तराईमा पाइने विषालु सर्पमा कमन करेट, स्पेक्टिकल कोब्रा गोमन सर्प, किङ कोब्रा, रसल भाइपर हुन् भने पहाडी जिल्लामा पाइने सर्पमा ग्रीन पिट भाइपर हुन् ।