
काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन् । उनले नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उल्लेख गरेका हुन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठिक गरेको भन्दै मुद्दा लगाइएको बताए । उनले नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्ने र स्वीकृति दिँदा आवश्यक शर्तहरू तोक्नसक्ने व्यवस्था गरेको बताए ।
हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको नेपालको भनाइ छ । हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्ने कुराको कानूनी आधार नरहेको पनि स्पष्ट पारे ।
उक्त जग्गा मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको उनले उल्लेख गरे । आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा विद्यादेवी भण्डारीदेखि एमाले महासचिव शंकर पोखरेल, सुजाता कोइराला, भीम रावल, मिनेन्द्र रिजालसम्म रहेको दाबी गरे ।








प्रतिक्रिया