१७ असार २०८३, बुधबार

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौँ । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ ।

शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ–देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ । ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, संस्मरण, कविता र विचारहरू समेटिएका छन् ।

चार खण्डमा विभाजित ग्रन्थमा सहकर्मीहरूको अनुभव, परिवारजनको स्मृति, राजनीतिक विश्लेषणका साथै परिशिष्ट खण्डमा अभागीका तस्बिर, हस्तलिखित कृतिहरू, चिठ्ठीपत्र र विद्यालय–संस्थाका दस्तावेजहरू समावेश गरिएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासीले अभागीलाई नेपालको वामपन्थी राजनीति र प्रगतिवादी साहित्यका क्षेत्रमा एउटा उल्लेखनीय हस्ताक्षरका रुपमा अथ्र्र्याए । दाङमा जन्मिएर सिंगो पश्चिम नेपालको राजनीतिक, शैक्षिक र साहित्यिक क्षेत्रमा नेत्रलाल अभागीको योगदान अविस्मरणीय रहेको डा. उदासीको भनाइ छ  ।

“कम्युनिष्टभित्र नेत्रलालका समकालीन वा पछिल्ला पुस्ताहरूले उनले तय गरेको यात्रा, बोकेको झोला, पैतालामा बोकेको दङ्गाली माटोलाई स्मृतिग्रन्थमा जतिसुकै सम्झिए पनि वा भावनामा बहकिए पनि व्यवहार र आचरणमा अधिकांश कम्युनिष्ट नेता र कार्यकर्ताहरूले सिद्धान्त र आस्थालाई बिर्सिएका छन्”, लेखक, समिक्षक राजेन्द्र पन्थीले स्मृति ग्रन्थको चर्चा गर्दै भने ।

उनका अनुसार नेत्रलाल पौडेल अभागीको सपना साकार पार्न सबैभन्दा पहिले अहिलेका कम्युनिष्ट नेताहरूले आफ्नो जीवनशैली र आचरण पुरै परिवर्तन गर्नुपर्छ । पश्चिम नेपालका आदिवासी थारु र सीमान्तीकृतलाई सपना मात्र बाँडेर सिंहदरबारमा पसी भ्रष्टाचारका काण्डैकाण्डका चाङ लगाएर नेत्रलालको उत्तराधिकारी हुँ भनेर किताबमा लेख्दैमा वा भाषण गर्दैमा कम्युनिष्टको सुभागीदार हुन नसकिने उनको भनाइ छ ।

पद्मप्रसाद शर्मा प्रधान सम्पादक रहेको स्मृति गन्थको सम्पादन सदस्यमा सर्वजित वली, सरस्वती गौतम खत्री, कुलबहादुर केसी, इन्द्रकुमार शर्मा, लक्ष्मी शर्मा, माया नेपाली र गोपाल गिरी रहेका छन् । स्मृतिग्रन्थलाई नौओटा विभिन्न शीर्षकमा व्यवस्थित गरिएको छ ।

स्मृतिग्रन्थको पहिलो खण्डमा सहकर्मीका लेखरचना राखिएका छन् । जसमा मदन भण्डारी, जीवराज आश्रित, वामदेव गौतम, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, मोहन वैद्य, शान्ता मानवी, सिपी मैनाली, अमृतकुमार बोहरा, ईश्वर पोखरेल, गुणनिधि भुसाल, गोपाल शाक्य, गोविन्दप्रसाद कोइराला, डा. मुकेश चालिसे, देवेन्द्र घिमिरे, प्रदीप नेपाल, र युवराज ज्ञवाली गरी १९ जनाका लेख छन् ।

दोस्रो खण्डमा परिवारजन र आफन्तका लेखरचना समेटिएका छन् । जसमा जीवन संगीनी विष्णु शर्मा, छोरा अजय शर्मासहित आठ जनाका रचना छन् । तेस्रो खण्डमा राजनीतिक व्यक्तित्वका रचना शीर्षक राखेर पाँच जनाका सामग्री समाविष्ट छन् । यसभित्र केशवप्रसाद बडाल, प्रकाश ज्वाला, रश्मिराज नेपाली, रेखा शर्मा र शङ्कर पोखरेलका रचना रहेका छन् ।

ग्रन्थको अन्त्यमा परिशिष्ट खण्ड रहेको छ । जसभित्र केही महत्वपूर्ण दस्ताबेज, नेत्रलालसँग सम्बन्धित पुराना तस्बिर, उनका हस्तलिखित कविता, उनले लेखेका चिठीपत्र, उनका प्रकाशित पुस्तकका आवरण, उनले पढेपढाएका विद्यालय तथा कलेज एवं उनका नाममा स्थापित विभिन्न संस्थाका तस्बिर, उनका दिवङ्गत सहयोद्धा, मुख्य आश्रयदाता र सहयोगीको तस्बिर राखिएका छन् ।

स्मृतिग्रन्थको मूल खण्डमा नेत्रलाल अभागीसम्बन्धी १४० वटा विभिन्न शीर्षकका रचनाले स्थान पाएका देखिन्छन् । तीमध्ये यसभित्र शालिकराम रजौरे, कविराज पौडेल, गोमा पोखरेल गौतम, गोविन्द पोखरेल, शरद गौतम, अम्बर गिरी, विमला गौतम, उमाकान्त न्यौपाने, हिरा डिसी, विष्णु बञ्जाडे र अन्य केही विद्यार्थीका कविता राखिएका छन् । यस्तै यसभित्र रहेका लेखमध्ये भुवन चौधरीको थारू भाषाको लेख पनि समाविष्ट छ ।

शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शम्भु गौतमका अनुसार स्मृतिग्रन्थको अवधारणा सन् २०८१ असार १० गते प्रारम्भ भएको हो । स्मृति ग्रन्थका लागि लेख संकलन र सम्पादन समिति गठन गरी, ग्रन्थको सम्पूर्ण सम्पादकीय कार्य, डिजाइन र प्रेस चयनको प्रक्रिया अघि बढाइएको थियो ।

ग्रन्थले नेत्रलाल ‘अभागी’ को जीवन र संघर्षलाई गहिरो विश्लेषण गर्ने प्रयास गरेको छ, जसले युवा पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ । यो आजको राजनीतिक परिवेशमा सिद्धान्त र व्यवहार बीचको भिन्नता बुझ्न महत्वपूर्ण हो ।