
काठमाडौँ, १३ भदौ । नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा (कोलेरा) को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ ।
गत वर्ष ललितपुरको पुनस्र्थापना केन्द्रमा हैजाले महामारीको रूप लिएको थियो । काठमाडौँमा पनि हैजाका कारण धेरै मानिस प्रभावित भएका थिए । बर्खाको पानी मिसावट भएर हैजा फैलिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू हुन नसक्ने बताए ।
ढलको पानी पिउने, पानी नतताई पिउने, सागसब्जी नपखाली खाएका कारण हैजा पुष्टि भएको छ । डा. झाले बर्सेनि हैजाको प्रकोप बढ्नुमा कोलेरा जीवाणु भएको खानेपानी प्रमुख कारण भएको जानकारी दिए । भिब्रियो कोलेरा नामक जीवाणुबाट हैजा फैलिएको पनि उनको भनाइ छ । वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी यही भएको उनी बताउछन् ।
स्वास्थ्यकर्मी परिचालनको निर्णय
यसैबिच बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा हैजा महामारी नियन्त्रण गर्नका लागि बैठक बसेको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभागका पदाधिकारीहरूको सहभागिता थियो । सचिव डा. देवकोटाका अनुसार वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका लागि महामारी नियन्त्रणसम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने निर्णय भएको छ ।
“हामीसँग महामारी नियन्त्रणसम्बन्धी तालिम लिएका दुई सय जना स्वास्थ्यकर्मी छन् । उनीहरूलाई परिचालन गरेर हैजा नियन्त्रणमा लिने छौँ,” सचिव डा. देवकोटाले भने । फिल्ड इपिडिमियोलोजी टे«निङ प्रोग्राम पाएका जनशक्तिको टिम बनाएर परिचालन गरिने भन्दै उहाँले पुरानो पानी नष्ट गर्ने र पीयूषको प्रयोग नगरपालिकामार्फत समन्वय गरेर गर्ने निर्णय भएको छ ।
बैठकले खानेपानीसम्बद्ध निकायसँग मिलेर पाइपको सर्भे गर्ने, पाइपको मर्मतसम्भार गर्ने निर्णय गरेको छ । हैजा फैलिएको स्थानमा औषधी, पीयूष, क्लोरिन र जनशक्तिको अभाव नभएको पनि स्वास्थ्य सचिव देवकोटाले बताए । उनले सङ्घ, प्रदेश, स्थानीय तह र विश्व स्वास्थ्य सङ्गठनसमेतको पाँच जनाको समूह बनाएर महामारी क्षेत्रमा काम गर्ने तयारी भइरहेको बताएका छन् ।








प्रतिक्रिया