
काठमाडौं, १२ भदौ । एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपिएफलाई ४–० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन् । लगातारको दोस्रो हारमा एपिएफ समूह चरणबाट बाहिरिएको छ ।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन् । खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो । क्लोज रेन्जबाट कानियानातले गोल गरिन् ।
पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दुगुना गरिन् । दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो । यो गोलमा स्कोलर्सले पहिलो हाफमा २–० को अग्रता बनायो ।
एपिएफले दोस्रो हाफमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । ५५ औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन् । गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन् ।
खेलको ६३ औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन् । नेपालको लिग विजेता एपिएफ आजको खेलमा सबै पक्षमा चुक्यो । कमजोर डिफेन्स हारको प्रमुख कारण बन्यो । मिड र फरर्वाडलाइन पनि निराशाजनक रहयो । ३ खेलमा एपिएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन ।
यसअघि पहिलो खेलमा एपिएफ घरेलुु टोली एफसी नासाफसँग ३–० ले हारेको थियो । एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो । अहिलेसम्म गोल गर्न भने सकेको छैन् । अब समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले आइतवार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ ।








प्रतिक्रिया