१९ असार २०८३, शुक्रबार

नेपालको ‘ए’ क्रिकेट टोली आसामसँग स्तब्ध

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भदौ । नेपाल ‘ए’ क्रिकेट टोलीले पहिलो टी–२० अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट सङ्घसँग हार खेपेको छ । गुवाहटीमा बिहीबार भएको खेलमा नेपाल आसामसँग डक वर्थ लुइस (डिएसएल) प्रणालीका आधारमा १५ रनले पराजित भयो । यससँगै आसामसँग पाँच खेलको सिरिजमा नेपाल १–० ले पछि परेको छ ।

जितका लागि आसामले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याइरहेको नेपाल ‘ए’ ले आठ ओभरमा तीन विकेटको क्षतिमा ६४ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि आसाम विजयी भएको हो ।

नेपालका लागि खेल रोकिनुअघि शुभ कंसाकार ३३ र सन्दीप जोरा दुई रनमा क्रिजमा थिए । यस्तै कप्तान अनिल साहले २० र पवन सर्राफले ६ रन बनाए । बलिङमा आसामका मरिनमोय दत्त र आकाश सेनग्प्ताले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो । आसामका लागि सुमित घाडीगाँउकरले सर्वाधिक ३४ रन बनाउनुभयो ।

अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

बलिङमा नेपालका आकाश चन्दले तीन विकेट लिए । सागर ढकाल र विवेककुमार यादवले दुई दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । नेपाल र आसमबिचको दोस्रो खेल शुक्रबार हुने छ ।