
काठमाडौँ, १२ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने दावी गरेका छन् ।
काठमाडौँमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना गर्नै नसकिने बताए । उनका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएको विकृतिलाई सुधारेको छ ।
मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उनले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए । उनका अनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन ।
योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताए । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उनको भनाइ छ ।
मन्त्री पौडेलले भने‚ ’काँग्रेस–एमाले दुईवटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसद्बाट योभन्दा शक्तिशाली सरकार बन्नै सक्दैन। २०८४ सम्म यो सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न। स्थिर शक्तिशाली सरकार यही हो ।’
चालू आवको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उनले दाबी गरे ।









प्रतिक्रिया