
काठमाडौं, १२ भदौ । साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । आज सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो ।
साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले सर्वाधिक ३६ रन बनाए । १९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । होगेनबुजेमले २८ बलमा समान १ चौका र छक्कासहित २८ रन बनाए । कप्तान म्याकेन्जी हार्भेले २७ रनमा आउट भए ।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए । नन्दन यादवले २ र रोहितकुमार पौडेलले १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।
साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २–२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १–१ विकेट लिए ।









प्रतिक्रिया