२ असार २०८३, मंगलबार

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौ, ११ भदौ । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ ।

नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डले आज सूचना निकालेर विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका बीमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आउँदो कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागू हुने चेतावनी दिएको हो ।

बोर्डको सूचनामा असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने तर २०८२ साल कात्तिक ३१ गतेपछि शुल्क बढाउँदै लैजाने उल्लेख छ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने बोर्डले जनाएको छ ।

बोर्डको सूचना अनुसार ६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्नेछ । तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने उल्लेख छ ।