६ असार २०८३, शनिबार

बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ भदौ । बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो। जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पु¥याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ ।

नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो ।

बंगलादेशलाई जित दिलाउन शौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्। एक गोल भने थुइनुए मार्माले थपेकी हुन् । नेपालकी भूमिका बूढाथोकीले एक गोल फर्काइन् ।

नेपालले ३७औं मिनेटसम्म बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, त्यसको अर्को मिनेट नै बंगलादेशले अग्रता लियो । मार्माले अगाडी कटाउन लागेको क्रस नेपाली खेलाडीलाई लागेर डिफ्लेक्ट भएको थियो । उक्त बललाई उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।

पहिलो हाफको निर्धारित समय सकिँदै लाग्दा बंगलादेशले अर्को गोल थप्यो। मीनामाया श्रेष्ठले दिएको सट पास बललाई डिफेन्डर सम्झना चन्दले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बंलादेशले गोलको अवसर प्राप्त ग¥यो ।

उक्त बललाई मामोनी चक्माले प्रीतिसामू पु¥याएकी थिइन् । प्रीतीले उक्त बललाई माथिल्लो बारतर्फबाट सजिलै गोलमा परिणत गरिन् । इन्जुरी समयमा भूमिकाले एक गोल फर्काइन्। नेपाली खेलाडीले पेनाल्टी बाहिरबाट गरेको लामो प्रहार बंगलादेशी डिफेन्डरले सिक्स यार्ड बक्सनजिक रोकेका थिए । तर, क्लियर गर्नेक्रममा तालमेल नमिल्दा भूमिकाले सहजै गोल गरिन् ।

७१औं मिनेटमा प्रीतिले व्यक्तिगत दोस्रो गोल गरिन् । अनमार्क रहेकी प्रीतिले सेटपीसबाट गोल गर्दा नेपाली गोल लक्ष्मी ओलीले कुनै प्रतिक्रिया दिन सकिनन् । ८७ औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन् । मार्माले दिएको क्रसलाई उनले सिक्स यार्ड बक्सनजिकबाटै गोल गरिन् । योसँगै बंगलादेशले ४–१ को सहज जित हात पा¥यो ।