
बाजुरा, ११ भदौ । जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाइमोसिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा एमडीजीपी डा. आशिष कार्की आएसँगै एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया भएको हो ।
मंगलबार अस्पतालमा बुढीगंगा नगरपालिका–४ की १४ वर्षीया नीलम नेपालीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो भने बडीमालिका नगरपालिका वडा न ५ का १९ वर्षीय बिमल साउदको फिमोसिसको सफल शल्यक्रिया गरिएको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए ।
३ वर्षको अन्तरालपछि एमडीजिपी डाक्टरको रुपमा कार्की आएसँगै अस्पतालले एपेन्डिसाइटिस र फिमोसिसको सफलतापूर्वक शल्यक्रिया गरी सफल उपचार गरिएको उनले बताए । पेट दुख्ने समस्या लिएर अस्पताल आएकी नीलममा परीक्षणपछि एपेन्डिसाइटिस देखिएको थियो । एमडिजीपी विशेषज्ञ डा. कार्कीको नेतृत्वमा डा. पवन अर्याल, लोकेश कुवर र स्टाफ नर्स सञ्जिताकुमारी खड्काको टोलीले उपचार गरेको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
फिमोसिसको समस्या भएका बिमलको पनि सफल शल्यक्रिया गरिएको हो । फिमोसिस भनेको लिंगको अग्र छालालाई असर गर्ने अवस्था हो । सामान्यतया, अग्र छालालाई लिंगको टुप्पोबाट पछाडि तान्न सकिन्छ, तर यो अवस्थामा त्यस्तो नहुने गरेको छ ।
त्यस्तै, एपेन्डिसाइटिस एक गम्भीर रोग भएकोले समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिनसक्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिने वित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ ।
एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुख्ने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो हुने लक्षण देखा पर्छन् । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने सम्भावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
बाजुरामा एमडीजीपी चिकित्सक आशिष कार्की आएसँगै एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको सहज रुपमा शल्यक्रिया हुने भएको हो । यसअघि अस्पताल बाजुरामा एमडीजीपी डाक्टर नहुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको उपचारमा समस्या हुँदै आएको थियो ।
बाजुरामा एमडीजिपी चिकित्सक आउँदा सामान्य खालका अप्रेसन समेत हुने भएका छन् । एमडिजिपी डाक्टर सँगै जिल्लामा उपुक्त उपकरण र आवश्यक औषधि भएको खण्डमा जिल्लामा दक्ष जनशक्तीको अभाव नहुने डाक्टर चन्द्रशेखर यादवले बताए ।
एमडिजिपी डाक्टर आए पश्चात् बाजुराबासीलाई सहज हुने भएको हो । एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको, अन्डकोष सुन्निएको जस्ता बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । निक साईमन संस्थाको सहयोगमा अस्पताल बाजुराले एमडिजिपी डाक्टरको रुपमा कार्कीलाई पाएको छ ।













प्रतिक्रिया