
काठमाडौं, १० भदौ । दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ । आज नेपालको यो लगातार दोस्रो जित हो ।
जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन् ।
ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए । २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गर्यो ।
त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे । गुलशन २३ रनमा आउट भए । ३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे । आरिफ शेख अविजित ११ रनमा रहे । एसिटीका इ रहेमानले २ तथा एल इभान्स र डि दुबेले १÷१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो । टोलीका कुनै खेलाडी नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन् । एन ब्रोसले सर्वाधिक १६ रन बनाए । केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले । जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।
सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए । सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र दिंदै किफायती बलिङ गरे । गुलशन र रोहितलर १÷१ विकेट आफ्नो नाममा लेखाए ।
पहिलो खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका सन्दीप लामिछाने विकेट विहिन रहे । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो ।








प्रतिक्रिया