३१ जेष्ठ २०८३, आइतबार

सन्दीपको ह्‍याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको छ ।

नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।

एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे । नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी–२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।