२१ जेष्ठ २०८३, बिहिबार

समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्न युवाको भूमिका महत्वपूर्ण : राधिका शाक्य

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताएकी छिन् । सबैका रुची अलग अलग भएकोले आफ्नो रूची अनुसारको काम गर्नु उपयुक्त हुने उनले बताएकी हुन् ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको धारणा राखिन् । ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिदो रहेछ’ शाक्यले भनिन्, ‘अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ, तर त्यस्तो होइन ।,’

शाक्यले युवा संघले समाजमा रहेको विकृति र विसंगतीकाविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । समाजमा फैलिएका नकारात्मकतालाई अन्त्य गर्न पनि युवा संघको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । ‘समाजमा असंख्य रुपमा फैलिरहेका नकारात्मकता र एकले अर्काको खुट्टा तान्ने प्रवृति छ’ शाक्यले भनिन् ‘ कसैले प्रगति गरेको हेर्न नचाहने इर्ष्या र डाहा गर्ने प्रचलन बढेको छ । यो समाजको उन्नतीका लागि राम्रो होइन ।’

युवा भनेको वर्तमान र भविष्य समेत भएकोले उनीहरुले सचेत र विवेकशिल भएर काम गरे भने देशलाई पनि योगदान हुने शाक्यको भनाइ छ । ‘तपाईंहरू आजको वर्तमान र भोलीको भविष्य हो । तपाईंहरु राम्रो बाटोमा लाग्नु भयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ । वर्तमान पनि राम्रो हुन्छ’ शाक्यले भन्नुभयो ‘ तपाईंहरु बिग्रनु भयो, बरालिनु भयो भने हाम्रो वर्तमान पनि राम्रो हुँदैन, हाम्रो भविष्य पनि राम्रो हुदैन ।’