२ असार २०८३, मंगलबार

विशाल चिनियाँ घरजग्गा कम्पनी ’इभरग्रान्ड’ शेयर बजार सूचीबाट हट्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ भदौ । विशाल चिनियाँ घरजग्गा कम्पनी ’इभरग्रान्ड’ हङकङको शेयर बजारबाट हटेको छ । कुनै बेला चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका रूपमा चिनिने इभरग्रान्डको शेयर बजारमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्य थियो । तर अत्यधिक ऋणभारका कारण कम्पनी नराम्ररी धराशायी भएको बीबीसीले जनाएको छ ।

विज्ञहरूले कम्पनीलाई शेयर सूचीबाट हटाइने कदम अत्यावश्यक र अन्तिम भएको बताएका छन् । उनीहरूका अनुसार अब कम्पनी शेयर बजारमा फर्कने सम्भावना छैन ।

केही वर्षअघिसम्म इभरग्रान्ड समूहलाई चीनमा आर्थिक चमत्कारको उदाहरण मानिन्थ्यो । चीनको सामान्य ग्रामीण परिवेशबाट आएका यसका संस्थापक हुई का यान सन् २०१७ मा फोब्र्सले सार्वजनिक गर्ने एशियाका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा पुगेका थिए । तर सन् २०१७ मा ४५ अर्ब अमेरिकी डलर रहेको उनको सम्पत्ति घटेर अहिले १ अर्बभन्दा कममा झरेको छ ।

इभरग्रान्डले ३ खर्ब अमेरिकी डलर ऋण लिएको थियो । तर चीनले सन् २०२० मा ठूला घरजग्गा व्यवसायीहरूले ऋण लिन पाउने रकममा नियन्त्रण गरेपछि कम्पनीमा समस्या शुरू भएको हो ।

ऋण लिन नपाएपछि कम्पनी आफूले बनाएर घर धेरै छुटमा बेच्न बाध्य भयो । वर्षाैंको कानूनी लडाइँपछि सन् २०२४ मा हङकङको एक उच्च अदालतले कम्पनी बन्द गर्न आदेश दिएको थियो । त्यसपछि शेयर मूल्य ९९ प्रतिशतभन्दा धेरैले घटिसकेकोमा अब शेयर बजारको सूचीबाटै हटेको हो ।