
काठमाडौं, ८ भदौ । भारतीय कांग्रेस नेता तथा लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई चुम्बन (किस) गर्न खोज्ने एक युवकमाथि सुरक्षाकर्मीले थप्पड प्रहार गरेका छन् । राहुललाई सडकको बीचमा चुम्बन गर्न खोजेपछि राहुलका सुरक्षाकर्मीले ती युवकलाई थप्पड हानेका हुन् ।
आइतबार बिहारमा मतदाता अधिकार यात्राको क्रममा घटेको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
राहुलले बिहारमा मतदाता अधिकार यात्रा गरिरहेका छन् । यसै क्रममा उनी आइतबार बिहारको पूर्णिया पुगे, जहाँ उनले लामो मोटरसाइक र्याली निकाले । यस क्रममा राहुल आफैं मोटरसाइक चलाइरहेका थिए र कांग्रेस प्रदेश अध्यक्ष राजेश राम उनको पछाडि बसिरहेका थिए । त्यसक्रममा अचानक एक जना युवक राहुलको नजिक आए र राहुललाई चुम्बन गर्न खाजे । तर, राहुलका सुरक्षाकर्मीहरूले युवकलाई देखे र थप्पड हाने ।
यो विषय सामाजिक सञ्जालमा मजाकको विषय बन्दै गएको र यसमा राहुलको सुरक्षामा लापरवाही भएको टिप्पणी पनि भइरहेको छ । जसरी ती युवक राहुललाई चुम्बन गर्न कुनै बाधाबिना नजिक पुगे, त्यसरी नै कुनै पनि संदिग्ध व्यक्तिले राहुललाई नजिक आएर हानी पुर्याउन सक्थ्यो भन्ने टिप्पणी भइरहेको हो ।
यात्राका क्रममा राहुलले भारतीय निर्वाचन आयोग र सत्तारुढ भाजपाबीच मत चोरीको लागि साझेदारी भइरहेको टिप्पणी गरेका छन् । राहुलले मतदाता अधिकार यात्रालाई सम्पूर्ण बिहारमा ठूलो जनसमर्थन मिलिरहेको र मानिसहरू स्वेच्छाले यसमा सामेल भइरहेको बताए ।
बिहारका करोडौं जनता चुनावी धाँधली र मत चोरीको मुद्दाविरुद्ध एकजुट रहेको राहुलको भनाइ छ ।








प्रतिक्रिया