२४ जेष्ठ २०८३, आइतबार

१०औँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षामा कर्णाली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौँ, ८ भदौ । पटक पटक सर्दै आएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली प्रदेशमा हुने प्रतियोगिता अनिश्चित बनेको हो । पदाधिकारीबिचको खिचातानीले राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।

यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो । १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ । सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२÷०८३ मा १० औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको छ ।

१० औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रङ्ग, चन्द्र र सूर्य झन्डा अङ्कित रहेको छ । यसअघि राखेपले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरेको थियो ।

जेठ अघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठका लागि सारिएको थियो । चर्को गर्मीसँगै कर्णालीको सुर्खेतमा खेलाडीको आवासका लागि होटललगायत व्यवस्थापन गर्न थप चुनौती हुने देखिएपछि पुनः सरेको राष्ट्रिय खेलकुद खेलाडीका लागि व्यग्र प्रतीक्षा बनेको छ ।

दुई दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा पोखरामा भएको थियो ।