
काठमाडौं, ७ भदौ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा शुक्रबार फोटोनको नयाँ विद्युतीय गाडी फोटोन ई–टुनल्याण्ड सार्वजनिक गरिएको छ । नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सले नयाँ मोडल नेपाली बजारमा प्रस्तुत गरेको हो ।
फोटोन ई–टुनल्याण्ड एक अत्याधुनिक विद्युतीय पिकअप गाडी हो, जसमा शक्तिशाली ब्याट्री, उच्च क्षमता, सुरक्षा र आरामका विशेषताहरू समावेश गरिएको छ ।
कम्पनीका अनुसार यसमा करिब ८८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले करिब ३५० देखि ४०० किलोमिटरसम्मको यात्रा गर्नसक्ने दाबी गरिएको छ । साथै, द्रुत चार्जिङ प्रविधिबाट छोटो समयमा ब्याट्री चार्ज गर्न सकिने सुविधा छ । गाडीमा दुई मोटर प्रविधि, चार पाङ्ग्रे ड्राइभ, र कठिन भौगोलिक क्षेत्रमा समेत सजिलै सञ्चालन गर्न सक्ने शक्ति रहेको कम्पनीले जनाएको छ । साथै, एबीएस, ईएसपी, बहु–एयरब्याग, ठूला डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, आरामदायी सिट र पर्याप्त लगेज स्पेस जस्ता विशेषताहरू पनि उपलब्ध छन् ।
कम्पनीले फोटोन ई–टुनल्याण्डको प्रारम्भिक मूल्य करिब १ करोड १५ लाख रुपैयाँदेखि सुरु हुने जनाएको छ । मूल्य भर्सन र सुविधाअनुसार फरक–फरक हुने बताइएको छ ।
नाडा अटो शोमा सार्वजनिक गरिएको यो नयाँ विद्युतीय गाडीले नेपाली बजारमा विद्युतीय पिकअप सेग्मेन्टमा नयाँ विकल्प थपेको छ । कम्पनीले देशभर रहेका आफ्ना सेवा केन्द्रमार्फत बिक्रीसँगै मर्मत तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराउने पनि जनाएको छ ।








प्रतिक्रिया