
काठमाडौं, ७ भदौ । जब विश्वका महान् फुटबल खेलाडीहरूको चर्चा हुन्छ, अर्जेन्टिनाका लियोनेल मेस्सीको नाम शीर्ष स्थानमा आउँछ । विश्वभर उनका करोडौं फ्यान छन् । उनै मेस्सीको टोली अर्जेन्टिना भारत भ्रमणमा आउँदैछ । यो खबर भारतीय फ्यानहरूका लागि ठूलो खबरभन्दा कम नरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अर्जेन्टिनाको राष्ट्रिय टोलीले नोभेम्बर २०२५ मा भारतको भ्रमण गर्ने तालिका छ, जहाँ एक मैत्रीपूर्ण खेल खेलिने बताइएको छ ।
अर्जेन्टिनाको राष्ट्रिय टोलीले २०२५ को बाँकी समयमा दुई फिफा मैत्रीपूर्ण खेल खेल्ने अर्जेन्टिना फुटबल संघले एक प्रेस विज्ञप्तिमा भनेको छ ।
पहिलो खेल अमेरिकामा ६ देखि १४ अक्टोबरसम्म र दोस्रो खेल भारतको केरलामा १० देखि १८ नोभेम्बरको बीचमा खेलिनेछ । दुवै खेलमा अर्जेन्टिनाको नेतृत्व मेस्सीले गर्ने पनि बताइएको छ ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा खेलिएको फिफा विश्वकप २०२२ जितेको थियो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।








प्रतिक्रिया