२२ असार २०८३, सोमबार

डेंगुबाट दुईजनाले ज्यान गुमाए, एक सातामै भेटिए २११ जना संक्रमित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ७ भदौ । पछिल्लो एक सातामा देशभर २११ जना डेंगुका विरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जिल्लामा २११ जना डेंगुका नयाँ विरामी भेटिएका हुन् ।

योसँगै गत जनवरी यता देशभर ३ हजार २४७ जनामा डेंगु संक्रमण भएको छ भने यही समयमा २ जना सङ्क्रमितको मृत्यु भएको इडीसिडीले जनाएको छ । यस्तै गत जनवरी यता सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९१४ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८ लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै जिल्लागत रूपमा हेर्दा काठमाडौँ र कास्कीमा डेंगुका धेरै विरामी भेटिएका छन् । हाल काठमाडौँमा ३१० र कास्कीमा ३१३ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो ।

नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ । पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ । पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षाको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ ।

यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु सङ्क्रमण रोकथाम गर्न सकिन्छ।

डेंगु संक्रमणको जोखिम रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई लामखुट्टे खोज्ने र लस्ट गर्ने अभियानै सञ्चालन गरेको छ।