काठमाडौं, ६ भदौ । श्रीलंकाका पूर्व राष्ट्रपति रणिल विक्रमसिंघे पक्राउ परेका छन् । उनलाई सरकारी कोष दुरुपयोगको आरोपमा पक्राउ गरिएको हो । यो मुद्दा उनले राष्ट्रपति रहँदाको विदेश यात्रासँग सम्बन्धित छ।
शुक्रबार बिहानै उनले प्रहरीको आपराधिक अनुसन्धान विभाग (CID) मा बयान दिएका थिए र दिउँसो राजधानी कोलम्बोस्थित जिल्ला अदालतमा हाजिर भएका थिए।
विक्रमसिंघे २०२२ देखि २०२४ सम्म राष्ट्रपति बनेका थिए। देशकै सबैभन्दा ठूलो आर्थिक संकट र लोकप्रिय आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्ष देश छोडेर भागेपछि उनी राष्ट्रपतिमा नियुक्त भएका हुन्। उनले मुलुकलाई आर्थिक पुनरुत्थानतर्फ फर्काउन भूमिका खेलेको श्रेय पाइरहेका थिए।
यसअघि उनले १९९० दशकदेखि सुरुआत गर्दै ६ पटक प्रधानमन्त्रीका रूपमा पनि सेवा गरेका थिए। ७६ वर्षीय विक्रमसिंघेले राष्ट्रपतिका रूपमा रहँदा २३ पटक विदेश यात्रा गरेका थिए, जसमा ६० करोड रुपैयाँभन्दा (करिब २० लाख अमेरिकी डलर, १४ लाख पाउन्ड) बढी खर्च भएको थियो।
शुक्रबारको पक्राउ २०२३ मा भएको एक यूके स्टपओभरसँग सम्बन्धित छ। क्युबामा भएको जी सेभेनसेभेन सम्मेलनपछि स्वदेश फर्कने क्रममा उनले र उनकी श्रीमतीले ब्रिटेनको वोल्भरह्याम्पटन विश्वविद्यालयको कार्यक्रममा भाग लिएका थिए। सीआईडी ले यो निजी भ्रमण भए पनि राज्यकोष प्रयोग भएको आरोप लगाएको छ, जुन विक्रमसिंघेले अस्वीकार गरेका छन्। यस विषयको अनुसन्धान यसअघि नै जुन महिनामा अदालतमा पेस गरिएको थियो।
श्रीलंकामा पक्राउ परेका उनी पहिलो पूर्व राष्ट्रपति हुन्। विक्रमसिंघे १९७७ मा सांसद निर्वाचित भएदेखि नै मुलुकको राजनीतिमा सक्रिय हुँदै आएका छन्। पेशाले वकिल रहेका उनी राजनीतिज्ञ तथा व्यापारी परिवारबाट आएका हुन्।
१९९४ मा युनाइटेड नेशनल पार्टीको नेतृत्व सम्हालेपछि उनले भ्रष्ट सदस्यलाई निकाल्ने अनुशासन आयोग गठन गरी पार्टीको छवि सुधार्ने काम गरेका थिए। वर्षौंदेखि उनले राष्ट्रपतिमा पुग्ने प्रयास गरे पनि २०२२ मा मात्र गोताबाया राजापाक्ष भागेपछि आफ्नो दीर्घ–आकांक्षित लक्ष्य पुरा गरेका थिए।
तर २०२० को निर्वाचनमा उनको पार्टी झन्डै सकिएको थियो र संसद्मा उनी मात्र एक्लै प्रतिनिधि रहेका थिए। उनले २०२४ को निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा डिसानायकेसँग पराजय व्यहोरे।








प्रतिक्रिया