
काठमाडौं, ६ भदौ । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । तीन दिनमा अटो शो ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए । बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरे ।
काठमाडौंको भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन् ।
अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी )भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ । अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन् । नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएको महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए ।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ ।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पाट्र्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ । त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् ।
नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन् । जहाँ विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा छन् ।








प्रतिक्रिया