
महोत्तरी, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिपुलेक नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताएका छन् ।
बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “हामीले तथ्य र सत्यमा टेकेर महाकाली वारिको भूभाग समेटिएको नक्सा बनाएका हौँ, यो सन् १८१६ को सुगौली सन्धि अनुरुप छ ।”
दुवै छिमेकी मित्रराष्ट्रले पछिल्लो सहमतिमा नेपाललाई नखोजे पनि चीन र भारतमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमण हाम्रो कारणले नरोकिने महासचिव पोखरेलले स्पष्ट पारे ।
“हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफनो चाहन्छौँ, यस्तो संवादको अवसर सद्भावना भ्रमणमै पाइने हो”, उनले भने, “तसर्थ नेपालको तर्फबाट यो भ्रमण रोक्ने त कुरै छैन ।”
लिपुलेक प्रकरणमा नेपालको परराष्ट्र मन्त्रालयले चीन र भारतलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति स्पष्ट गरीसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसमा अब दुवै मित्रराष्ट्रले तार्किक निष्कर्ष दिनुपर्ने बताए ।
महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धि नै आफ्नो दलको मुख्य ध्येय भएको बताए । अहिले पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको उनले बताए ।
बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेका पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको स्पष्ट पारे ।
एमालेले नै मुलुकमा केही गर्छ भन्ने आमजनतामा बनेको भरोसालाई आगामी निर्वाचनमा बहुमतको सरकार बनाएर चरितार्थ गरिने उनले बताए । अहिले सरकार बनेदेखि आर्थिक सुधारका सूचक देखिएको उल्लेख गर्दै महासचिव पोखरेलले पछिल्लो एक वर्षको अवधिमा राजस्व वृद्धि, निर्यात वृद्धि र पुँजीगत खर्च वृद्धि भएर आर्थिक सुधार बढेको बताए ।
“अब सङ्घीयता कार्यान्वयनका दिशामा बन्न बाँकी कानुनमा सरकार केन्द्रित हुनपर्छ”, उनले भने ।








प्रतिक्रिया