९ असार २०८३, मंगलबार

‘देखिनेगरी काम गरेमा पद र प्रतिनिधित्व सहजै पाइन्छ’: सञ्चारमन्त्री गुरुङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता र नेतृत्वले देख्नेगरी काम गरेमा पद र प्रतिनिधित्व सजिलै प्राप्त हुने बताएका छन् ।

 

अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीकोदोस्रो सम्मेलनमा उनले अहिलेकै आरक्षण र प्रतिनिधित्वमा चुप लागेर बसे जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारको एजेन्डा पछिपर्ने बताए ।

योजनासहित नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भने, “पार्टीले देख्नेगरी काम गर्नुस्, क्षमता देखाउनुस् । चरामा पनि मयूर बन्नुस् ।” नेकपा (एमाले) का उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले राजनीतिक आन्दोलन सकिएको जनाउँदै अब सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रित हुन आग्रह गरे ।

युवाको सक्रिय सहभागिताबिना राजनीतिअघि बढ्न नसक्ने जनाउँदै उनले जनसङ्गठनमा युवाको उपस्थिति कम देखिएको औंल्याए । “यहाँ हजुरआमा, आमाहरु धेरै हुनुहुन्छ । एमालेभित्र युवाको अभाव देखियो” मन्त्री गुरुङले भने, “तपाईंहरूका छोरी, भान्जीहरूलाई किन यहाँ ल्याउन र आकर्षित गर्न सकिएन ?”

महिलालाई राज्य र सरकारका विभिन्न तहमा अवसर कसैले दिने नभई आफैंले क्षमता विकास गरी त्यसमा दाबा गर्नुपर्नेमा उनको जोड छ । “योजना बनाउनु होस्, सुशासन र जनसम्बन्धमा पनि हामी पुरुषभन्दा कम छैनौँ भन्ने देखाउनु होस्,” मन्त्री गुरुङले भने, “आउने चुनावमा कति वटा वडाध्यक्ष महिला लड्ने, कुन कुन पालिकामा उपाध्यक्ष, उपमेयर होइन, प्रमुख नै माग्ने भन्ने योजना बनाउनु होस् ।”

पछिल्लो समय अध्ययन गर्ने संस्कृति घटेको भन्दै उहाँले अध्ययनबिना कोही नेता बन्न नसक्ने विचार पनि राखेका छन् । २०८४ को आमनिर्वाचनमा एमालेलाई सुविधाजनक बहुमत दिलाउनेगरी काम गर्न उनले निर्देशन दिए । “सुविधाजनक बहुमत ल्याउन प्रत्यक्षमा कमसेकम एक सय र समानुपातिकमा ४० प्रतिशत मत ल्याउनुपर्छ । त्यसको आधार तपाईंहरू हो” उनले भने ।

गण्डकी प्रदेशका ६० सिटमध्ये २० प्रत्यक्ष र १५ समानुपातिक गरी कमसेकम ३५ सिट जित्नेगरी योजना बनाउने उनले आग्रह गरे । एमाले अहिले पनि चौतर्फी घेराबन्दीमा रहेको दाबी गर्दै उनले जनसङ्गठनहरूले त्यसलाई तोड्नुपर्ने धारणा राखे ।

“देशको अरू सबै वामपन्थीहरू एमालेविरुद्धमा छन् । कांग्रेससँग सरकारमा गठबन्धन भए पनि अन्त सबैतिर प्रतिस्पर्धा नै भइरहेको छ” उनले भने, “यस हिसाबले एमालेविरुद्ध अहिले पनि चौतर्फी घेराबन्दी छ ।”

नेकपा (एमाले) मा अहिले नेतृत्वका लागि वर्तमान अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको उनले उल्लेख गरे ।