२२ जेष्ठ २०८३, शुक्रबार

क्रिकेटर ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले विपन्न वर्गको कोटाबाट आफूलाई बनाइदिने भनेको घर नलिने बताएका छन् । आमाको निधनपछि क्रियामा बसेको ११ औं दिन उनले विपन्न वर्गको घर सुविधा नलिने बताएका हुन् ।

केही दिनअघि कोशी प्रदेशसभा सदस्य अमृत अर्याल ललितको आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न घर पुगेका थिए । उनले ललितको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घरमध्ये एउटा ललित लागि निर्माण गरिने बताएका थिए ।

उक्त घोषणापछि सामाजिक सञ्जालमा व्यापक बहस भएको थियो । कसैले समर्थन जनाए भने कसैले नेपाल प्रिमियर लिग (एनपिएल)मा २० लाख रुपैयाँ, नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीबाटसमेत लाखभन्दा बढी लिँदै आएको कारण ललित आफैं घर बनाउन सक्षम रहेको भन्दै आलोचना पनि गरेका थिए ।

ललितले यस्तो सुविधा लिन अस्वीकार गर्दै भने, ‘म घर बनाउन सक्षम छु । आफ्नै प्रयासमा घर बनाउन सक्छु । अहिले आमाको निधनका कारण मात्र यो योजना रोकिएको हो । यस्तो घर मलाई होइन, साँच्चिकै घरविहिन विपन्न परिवारलाई दिनु न्यायसंगत हुन्छ ।’

जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुन्छ । ललितका लागि दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण गर्दिने अर्यालको योजना थियो ।

उनले सरकारले सहानुभूति वा सम्मानस्वरूप कुनै सहयोग गर्ने हो भने स्वीकार गर्ने बताए । तर, विपन्न वर्गका लागि छुट्याइएको कोषबाट आउने सुविधा लिन नहुने बताए । ‘विपन्न वर्गलाई बाँच्ने आधारका रूपमा सरकारले दिने सहयोग हो, त्यसलाई मैले लिन मिल्दैन,’ उनले भने ।

ललितको परिवार पाँच पुस्तादेखि विराटनगरमै बसोबास गर्दै आएका छन् । बुबाको नाममा एक बिघाभन्दा बढी घडेरी छ, जसको मूल्य करोडौँमा पर्छ । त्यति मात्र होइन, ललित आफैं पनि अहिले आर्थिक रूपमा सक्षम छन् । नेपाल पुलिसमा उनी करार सेवा छन् । दुई संस्थामा ब्रान्ड एम्बासडरको भूमिका र क्रिकेटबाट हुने आयमार्फत उनले पर्याप्त कमाइ गरिरहेका छन् ।