
काठमाडौं, ४ भदौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकले ५६.२२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएकोमा ४५.८५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ ।
यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै, बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी”मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।









प्रतिक्रिया