
काठमाडौँ, ३ भदौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपन एआईले भारतका लागि च्याटजीपीटीको सस्तो सब्सक्रिप्सन प्याकेज ’च्याटजीपीटी गो’ सुरु गरेको छ । यो नयाँ प्लानको मासिक शुल्क ३९९ भारु (लगभग ४.६० अमेरिकी डलर) निर्धारण गरिएको छ, जुन कम्पनीको ’प्लस प्लान’ (२३ अमेरिकी डलर) भन्दा निकै सस्तो हो ।
ओपन एआईले केही दिन अघि मात्र आफ्ना सबै प्याकेजहरूको लागि स्थानीय मुद्रामा मूल्य निर्धारण सुरु गरेको थियो । यो नयाँ योजनाको साथमा अब प्रयोगकर्ताहरूले यूपीआईबाटै भुक्तानी गर्न सक्नेछन् ।
च्याटजीपीटी गो प्याकेजमा निःशुल्क टियरको तुलनामा मेसेज, तस्विर बनाउने र फाइल अपलोड गर्ने क्षमता १० गुणा बढी छ । ओपनएआईका सीईओ साम अल्टम्यानले हालैको एक पडकास्टमा भारत कम्पनीको दोस्रो ठुलो बजार भएको बताएका थिए । ’गो’ प्लान मार्फत कम्पनीले भारतीय बजारको फाइदा उठाउन चाहेको देखिन्छ ।
एप फिगर्सका अनुसार पछिल्लो ९० दिनमा भारतबाट च्याटजीपीटी एप दुई करोड ९० लाख भन्दा बढी पटक डाउनलोड भएको छ । जुन विश्वको कुनै पनि देशबाट भएको सबैभन्दा धेरै डाउनलोड हो । यद्यपि, सोही अवधिमा भारतका प्रयोगकर्ताहरूबाट एपले ३६ लाख अमेरिकी डलर मात्र आम्दानी गर्न सकेको थियो ।
हाल यो सस्तो योजना भारतमा मात्र उपलब्ध छ, तर कम्पनीले यसलाई थप क्षेत्रहरूमा विस्तार गर्न काम गरिरहेको बताएको छ । सम्भवतः त्यसपछि यो प्याकेज नेपालमा समेत उपलब्ध हुनेछ । गत महिनाको आँकडा अनुसार विश्वभर च्याटजीपीटीका ७० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् ।








प्रतिक्रिया