
वासिङ्टन, ३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताउनुभएको छ ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलो पटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताए ।
“मैले पुष्टि गरेँ–र सबै युरोपेली नेताहरूले मलाई समर्थन गर्नुभयो–हामी पुटिनसँग द्विपक्षीय बैठकका लागि तयार छौँ“, शिखर सम्मेलनपछि जेलेन्स्कीले भने ।
रुसले लगातार प्रगति गरिरहेकाले जेलेन्स्की अहिले युद्ध अन्त्यका लागि क्षेत्र हस्तान्तरण गर्न दबाबमा छन् । ह्वाइट हाउसको बैठकअघि, ट्रम्पले युक्रेनलाई क्रिमिया त्याग्न र नाटोमा सामेल हुने आफ्नो लक्ष्य छोड्न दबाब दिनुभएको थियो । यी दुवै पुटिनका प्रमुख माग हुन् ।
तर जेलेन्स्कीले ट्रम्पलाई युद्धको अवस्थाबारे स्पष्ट चित्र प्रस्तुत गर्न सक्षम भएका थिए । उनले ओभल अफिसमा ट्रम्पसँग एक्लै भेट गरेका हुन् ।
“यो हाम्रो बैठकहरू मध्ये सबैभन्दा राम्रो थियो”, जेलेन्स्कीले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भने, “मैले नक्सामा समेत सबै अमेरिकी सहकर्मीहरूलाई युद्धको मैदानको अवस्थाबारे धेरै कुरा देखाउन सकेँ ।”








प्रतिक्रिया