
काठमाडौं, ३ भदौ । कुवेतमा विषाक्त मदिरा सेवन गर्दा बिरामी परेका कैयौँ नेपालीहरूलाई अस्पतालबाट डिस्चार्ज भएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त खाडी मुलुकमा मदिरा सेवन र बिक्रीवितरणमा प्रतिबन्ध छ । तर गत साता मेथनोलयुक्त अवैध मदिरा सेवन गर्दा १२ नेपालीसहित २३ जनाको मृत्यु भएको थियो ।
कुवेतका स्थानीय सञ्चारमाध्यमका अनुसार अस्पतालबाट बिदा पाएपछि पक्राउ परेका विदेशीहरूलाई पुनः कुवेत फर्किन नपाउने गरी देशनिकाला गर्ने तयारी हुँदै छ । सुरक्षा निकायमा भएका स्रोतलाई उद्धृत गर्दै द टाइम्स अफ कुवेतले अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न भएकाहरूविरुद्ध भने हत्याको अभियोगमा मुद्दा चल्न सक्ने विवरण प्रकाशित गरेको छ ।
कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारीले स्थानीय प्रहरीले सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न थालेको विवरण दूतावासले पनि पाएको बताए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अवैध रूपमा उत्पादन गरिने मदिरामा मेथनोल पाइने गरेको भन्दै त्यस्तो मदिरा सेवन गर्नेहरूमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या निम्तिन सक्ने चेतावनी दिँदै आएको छ ।
कुवेतको घटनापछि नेपाली अधिकारीहरू के भन्छन्
कुवेतस्थित नेपाली श्रमसहचारी गिरिप्रसाद आचार्यले विषाक्त मदिरा सेवनका घटना सार्वजनिक भएपछि सोमवारसम्म १२ नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको बताए ।
उनका अनुसार बिरामी पर्नेमध्ये ४० देखि ५० जना नेपालीहरू उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । “त्यो सङ्ख्या आजको दिनमा घटेको छ । अझै पनि २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अवस्था छ । एघार जनाको आईसीयू वा मेडिकल भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य व्यक्तिहरूको विभिन्न वार्डमा उपचार भइरहेको छ ।
गत साता कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु भएको भन्दै १६० जनाभन्दा बढी अस्पताल भर्ना भएको जनाएको थियो । विषाक्त हुन सक्ने भन्दै उक्त मन्त्रालयले अवैध मदिरा सेवन नगर्न विदेशी श्रमिकहरूलाई चेतावनी दिएको थियो ।
कति नेपालीहरू पक्राउ परेका छन्
कुवेती अधिकारीहरूका अनुसार अवैध मदिरा उत्पादन गरेको आरोपमा नेपाली, भारतीय र बाङ्ग्लादेशी नागरिकहरूलाई पक्राउ परेका छन् । कुवेतको आन्तरिक मामिला मन्त्रालयले घरेलु मदिराको उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेको र केही घरेलु उद्योगहरूमा छापा मारेर बन्द गराएको उल्लेख गरेको छ ।
सामाजिक सञ्जाल ’एक्स’मा राखिएको विवरणमा कुवेतको आन्तरिक मामिला मन्त्रालयले मेथनोलसहित एक नेपालीलाई पक्राउ गरेको पनि उल्लेख छ । श्रमसहचारी आचार्य भन्छन्, “यो विषयमा हामीले पनि समाचारबाट नै थाहा पाएका छौँ । प्रहरीबाट केही पुष्टि भएको छैन । हामी उहाँहरूको बारेमा थप बुझ्दै छौँ ।“
कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी आचार्यले अस्पतालमा उपचार गराएर ठिक भएका नेपालीहरूलाई त्यहाँको प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको बताए ।
उनी भन्छन्, “कुवेतमा पूर्ण रूपमा मदिरा निषेधित छ। सेवन पनि निषेध छ, बेचबिखन परको कुरा भयो । अहिले उपचारबाट डिस्चार्ज भएका बिरामीहरू पनि प्रहरीको अनुसन्धानमा रहेको अवस्था छ । उपचारपछि उहाँहरूलाई प्रहरीले लैजाने गरेको छ ।“
कुवेतका स्थानीय सञ्चारमाध्यमका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका सबै जनालाई कुवेतबाट निष्काशन गर्ने तयारी भएको सुरक्षास्रोतहरूले बताएका छन् । उनीहरूलाई कुवेत फर्किन नपाउने गरी कालोसूचीमा पनि राखिएको विवरण प्रकाशित भएको छ ।
कुवेतस्थित गैरआवासीय नेपाली सङ्घका अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न भएको भनिएका विदेशीमध्ये नेपाली नागरिकहरू पनि भएको बुझिएको छ ।
“प्रहरीले उत्पादन गर्नेहरूलाई पनि समातेको छ । तीमध्ये दुई जना नेपाली र अरू भारतीय र बाङ्ग्लादेशी हुन् । उनीहरूलाई हत्याको अभियोग लगाउने कुरा चलेको छ । घोषणा भइसकेको छैन, तर त्यही हुन सक्छ,“ उनले भने ।








प्रतिक्रिया