
काठमाडौं, २ भदौ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टिम काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको छ । काठमाडौंले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको थियो । इटालियन खेलाडी ओउमायमाले मिडल ब्लकर र हिटरको भूमिकामा टिमले अनुबन्धन गरेको हो। तीन फरक पोजिसनका खेलाडी भित्र्याउँदै क्लबले टोली मजबुत बनेको जनाएको छ ।
मोरोक्कोमा जन्मिएकी ओउमायमासँग एक दशकभन्दा बढी भलिबल खेलेको अनुभव रहेको छ । विशेषगरी मिडल ब्लकरको रुपमा परिचित उनी अपोजिट हिटरमा पनि प्रभावशाली खेलाडी हुन् ।
उनले इटली, फ्रान्स, मोरक्को र साउदी अरेबियाका विभिन्न क्लबबाट खेलिसकेकी छिन् । पछिल्लो समय उनले साउदी अरेबियाको अल इतिहाद एफसी, मोरक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा टिमबाट व्यावसायिक भलिबल खेलेकी थिइन् ।
नेपालमा पहिलो पटक लिग खेल्न आउन लागेकी कोडिएल उत्साहित छिन् । उनले भनिन्, ‘नेपालमा एभरेष्ट महिला भलिबल लिग खेल्न पाउनु मेरो लागि ठूलो सम्मान हो । यो मेरो पहिलो अनुभव हुनेछ र म देश बुझ्न, फ्यानलाई भेट्न तथा कोर्टमा उत्कृष्ट प्रदर्शन गर्न निकै उत्सुक छु ।’
३ विदेशी खेलाडी अनुबन्ध गरेसँगै काठमाडौं स्पाइकर्सको खेलाडी संख्या ११ पुगेको छ । ट्यालेन्ट हन्टमार्फत अझै एक खेलाडी थपिने छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारीलाई मार्की प्लेयरमा निरन्तरता दिइएको छ भने अक्सनबाट मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्दलाई टोलीमा भित्राइएको छ ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरिको छ । इडब्लुभी भदौ २० देखि २८ गते सम्म हुनेछ ।









प्रतिक्रिया