
काठमाडौं, २ भदौ । भारतीय फुटबलका उच्च गोलकर्ता सुनिल क्षेत्रीलाई बाहिर राख्दै नवनियुक्त प्रशिक्षक खालिद जमिलले काफा नेसन्स कप खेल्न ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
घोषणा गरिएको ३५ सदस्यीय प्रारम्भिक टोलीमा उनी परेका छैनन् । प्रतियोगिता आगामी अगस्ट २९ देखि ताजिकिस्तान र उज्बेकिस्तानमा हुनेछ । तर, सुनिल बाहिर रहनुको अर्थ उनको अन्तर्राष्ट्रिय यात्रामाथि फेरि एकपटक प्रश्नचिह्न लागेको छ ।
अखिल भारतीय फुटबल महासंघले यसबारे कुनै टिप्पणी गरेको छैन । तर, निर्णय पूर्ण रूपमा प्रशिक्षक जमिलकै हातमा रहेको जनाएको छ । ४० वर्षीय सुनिल हाल इन्डियन सुपर लिगमा बेङ्ग्लोर एफसीसँग आबद्ध छन् । तर, क्लबमै पनि अनिश्चितताको स्थिति छ ।
लिगको आर्थिक संकटका कारण बेङ्ग्लोरले हालै पहिलो टिमका खेलाडीहरूको तलब रोकेको थियो । तर, गुरप्रीत सिंह सन्धु, राहुल बेके, रोशनसिंह नाओरेम, सुरेशसिंह वाङजाम र छिङलेनसाना सिंहजस्ता उनका सहकर्मी भने जमिलको सम्भावित सूचीमा परेका छन् ।
सुनिलले गत वर्ष जुनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए । तर, तत्कालीन प्रशिक्षक मानोलो माक्र्वेजको आग्रहमा उनले यस वर्ष एसियन कप छनोट खेलमा पुनरागमन गरेका थिए। उनले चार खेल खेलेका थिए, जसमा माल्दिभ्सविरुद्धको ३–० को जितमा एक गोल पनि गरेका थिए ।
तर, बंगलादेशसँगको गोलरहित बराबरी र हङकङसँगको हारपछि भारतको २०२७ एसियन कप यात्रा संकटमा परेको थियो । ३५ सम्भावित खेलाडीमध्ये अहिले २२ जना मात्र प्रशिक्षण क्याम्पमा पुगेका छन् । बाँकी खेलाडी डुरान्ड कप सकिएपछि मात्रै समावेश हुनेछन् ।
मोहन बगानका अनिरुद्ध थापा, लिस्टन कोलाको र साहल अब्दुल समद अझै क्याम्पमा पुगेका छैनन् । त्यसैगरी, ईस्ट बेङ्ग्लका अनवर अली र जेक्सन सिंह तथा नर्थईस्ट युनाइटेडका जितिन एमएस पनि अनुपस्थित छन् ।
भारत समूह ‘बी’ मा आयोजक ताजिकिस्तान, इरान र अफगानिस्तानसँग रहेको छ । भारतले पहिलो खेल अगस्ट २९ मा ताजिकिस्तानविरुद्ध खेल्नेछन् । त्यसपछि सेप्टेम्बर १ मा इरान र सेप्टेम्बर ४ मा अफगानिस्तानसँग भिड्नेछन् ।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि खेल सेप्टेम्बर ८ मा हिसोर र तास्कन्दमा हुने तय भएको छ ।








प्रतिक्रिया