
काठमाडौं, २ भदौ । ओपनर आशिफ शेखको अर्धशतकका बाबजुद नेपालले टप इन्ड टी–२० सिरिजमा हारको श्रृंखला जारी राखेको छ । जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो ।
सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार बेहोरेको हो । यसअघि नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो । नेपालका आशिफले सर्वाधिक ५३ रन बनाए। ४९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए ।
कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे । मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए ।
त्यसअघि डार्बिनस्थित टिआइओ रंगशालमा टस जितेर पहिला ब्याटिङ थालेको मेलबर्नले ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सको अर्धशतकसँगै १७५ रन बनाएको थियो ।
मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे । ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए ।
१३.१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे । अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो ।









प्रतिक्रिया