२६ जेष्ठ २०८३, मंगलबार

गंगा सुवेदीको स्वरमा ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बुबाको मुख हेर्ने दिनको अवसरमा केही दिन अगावै स्वर्गीय बुबाको सम्झनामा बुबालाई उपहार स्वरूप गंगा सुवेदीले आफ्नो स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् ।

कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको बीच बीचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि महत्त्वपूर्ण सहयोग गरेका छन् । यो गीत केवल सिर्जना मात्र होइन, सुवेदी परिवारले भोगेको गहिरो पीडा र जीवनका कठोर अनुभूतिहरूको दस्ताबेज हो । गंगाको बुबा २०८० साल फागुन २५ गते अकस्मात् संसारबाट बिदा भए । त्यो क्षणले परिवार र गंगाको सम्पूर्ण जीवनमा उतारचढाव ल्याइदियो । घरको मूल आधार, परिवारको भरोसा, सङ्घर्षको प्रेरणा श्रोत बुबाको वियोगपछि सुवेदी परिवार अत्यन्तै विक्षिप्त बनेको स्मरण गंगाले गरेकी छिन् ।

गंगाले आफूले भोगेको जीवन–सङ्घर्ष खुलाउँदै भन्छिन्, ‘आमाबुबाको हातखुट्टामा चर्चरी रगत बगेको, मुखबाट रगत निस्कने गरी हाम्रो लागि दुःख गर्नुभएको भयावह दृश्य देखेर म सानै उमेरमा कमाउन निस्किएँ । प्लस टु सकाएर स्नातक तहमा अध्ययनरत हुँदा कर्णालीको यात्रामा जागिरको लागि निस्किँदा आमाबुबाले आँसुका धारा बगाउँदै भनेका शब्दहरू सम्झिदा पनि गाह्रो हुन्छ’ । जागिरे जीवनसँगै गंगाले मास्टर डिग्री हासिल गरेकी छिन् भने कानुनमा एलएलबी तह उर्तीण गरेकी छन् ।

गंगाले भोगेको पीडा, अधुरो सपना र अपार माया गीतमा मिसिएको छ । बुबाले सन्तानलाई आत्मनिर्भर बनाउन आफ्ना सबै सपना र जीवनलाई बलिदान दिएको उनले भावुक हुँदै सम्झिन्छिन् ।

उनी भन्छिन्, ‘जति नै दुःख गर्नुपरे पनि सन्तानको शिक्षादीक्षालाई बुबाले पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो । आफैं बेचिएर पनि तिमीहरूलाई पढाउँछु, मेरो सम्पत्ति नै तिमीहरू हो, हामीले जस्तो दुख तिमीहरूले गर्न नपरोस् भन्नुहुन्थ्यो ।’ घरको जेठो सन्तान ससाना भाइबहिनी, बाबाआमाको चरम सङ्घर्षलाई देख्न नसकेर अब कमाउन पर्छ, भाईबहिनीलाई पढाउन पर्छ सक्षम बनाउनपर्छ । हामी सबै आत्मनिर्भर भयौँ भने बाबाआमालाई सुखको आभास गराउन सकिन्छ भन्ने सोच बोकेर घरदेखि टाढा सानै उमेरमा जागिरको लागि निस्किएको उनी बताउँछिन् । ‘तर जब सन्तान आत्मनिर्भर बन्दै थिए, बाबाआमालाई सुख दिने समय आएको थियो, त्यति बेला नै बाबाले हामीलाई अकस्मात् छाडेर जानुभयो,’ गंगाको बोलीसँगै मन भक्कानिन्छ । बुबाको असामयिक निधनपछि लेखिएका शब्दहरू नै आज गीत बनेर सार्वजनिक भएका छन् ।

यस वर्षको बुबाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय बुबालाई उपहार स्वरूप गंगाले ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । साङ्गीतिक क्षेत्रमा गंगाको यो पहिलो सिर्जना हो ।