
–अन्जनी कुमार अधिकारी
उदयपुर, १ भदौ । उदयपुरको बेलका नगरपालिकामा सञ्चालन हुँदै आएको बेलका गोल्डकपको तेस्रो संस्करण दशैंपछि हुने भएको छ ।
आइतबार आयोजक ब्रदरहुड एफसी बेलकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ब्रदरहुड एफसीले दोस्रो संस्करणसम्म सफलता पूर्वक खेल सम्पन्न गरेको बताउँदै तेस्रो संस्करण पनि सफल रुपमा सम्पन्न गर्न लागेको बताएको हो ।
तेस्रो संस्करणको गोल्डकप प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैयाँ रकम समेत विनियोजन भएको बताइएको छ ।
ब्रदरहुड एफसीले दोस्रो संस्करणमा प्रथम पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ राखेकोमा तेस्रो संस्करणमा यो राशि वृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो पुरस्कार राशि १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ राख्ने लक्ष्य लिएको ब्रदरहुड एफसीका अध्यक्ष रविन तामाङले जानकारी दिए ।
ब्रदरहुड एफसीले आइतबारै दोस्रो संस्करणको आयव्यय समेत सार्वजनिक गरेको थियो । उसले दोस्रो संस्करणमा १३ लाख ७२ हजार ५ सय ८७ रुपैयाँ आम्दानी र १३ लाख ३ हजार ११६ रुपैयाँ खर्च गरेर ६९ हजार ४७१ रुपैयाँ बचत गर्न सफल रहेको बताएको थियो । ब्रदरहुड एफसीले तेस्रो संस्करणका लागि २६ लाख संकलन गर्ने र प्रतियोगितामा २५ खर्च गर्ने लक्ष्य लिएको उपाध्यक्ष जानुका कार्कीले जनाकारी दिइन् ।
दोस्रो संस्करणको गोल्डकपको आयव्यय सार्वजनिकरण र तेस्रो संस्करणको प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा बेलका नगरपालिका वडा नम्बर ६ र ९ का अध्यक्ष बसन्तकुमार मगर, भरत घिमिरे, खेलकुद विकास समितिका अध्यक्ष गोपीलाल राई, स्थानीय प्रशासन, पत्रकार तथा खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया