२० असार २०८३, शनिबार

सरकार ढाल्ने सपना नदेखे हुन्छः अर्थमन्त्री पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तानसेन, १ भदौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गरेका छन् । केही मानिसले सरकार आजै ढल्छ, भोलि ढल्छ भने पनि त्यो कल्पना मात्र भएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पाको आयोजनामा आज तानसेनमा गरिएको पत्रकार भेटघाट कार्यक्रम उनले नेपाली कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जाने बताए । उनले सरकारमा दुई दलबिच भएको एकताले सरकार ढाल्छौँ भन्नेहरु अहिले चुप लागेर बसेको चर्चा गरे ।

सरकारले जनचाहनाअनुसार काम गर्ने र दुबै पार्टीले परामर्श गरेर अगाडि बढ्ने मन्त्री पौडेलले बताए । एमाले र काँग्रेस देश र जनताको हितमा काम गर्ने पार्टी भएको उनले दाबी गरे ।

अर्थमन्त्री पौडेलले अस्थिरताको खोजी गर्ने दिन गएको बताउँदै अब नेकपा (माओवादी केन्द्र) ले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उल्लेख गरे । दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनको भनाइ थियो । ‘मुलुुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं, उनले भने, “यही सरकारले मुलुकको भविष्य बनाउँछ ।”

उपप्रधानमन्त्री पौडेलले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको जिकिर गरे । उनले भने, ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ, कमिला हिँड्न थाल्छ ।’ रास्वपा अब हराउँदै जाने दाबी गरे ।

उनले नेपाल प्रतिगमनतिर जाने सम्भावना नरहेको उल्लेख गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेको बताएका थिए । उनीहरूको नेपालमा भविष्य नरहेको मन्त्री पौडेलको दाबी छ । प्रतिगामी एजेन्डा बोकेर समय नफाल्न उनले राजावादीहरुलाई आग्रह गरे ।