
–अन्जनी कुमार अधिकारी
उदयपुर, ३१ साउन । बाल गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन–४ को उपाधि विजेता सोनाली राजभण्डारीलाई उदयपुरमा भव्य सम्मान गरिएको छ ।
सोनालीलाई उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियाका शिद्धेश्वरी मावि र जनता नमुना माविले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, नगर प्रवक्ता प्रकाश राउत, पुर्वमेयर खगेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
गत साउन २४ गते भएको ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी सोनालीले उपाधि जितेकी थिइन् । बाल गायन रियालिटी शो मा सर्वाधिक भोट ल्याएको आधारमा सोनालीलाई उपाधि विजेता घोषणा गरिएको थियो ।
सोनालीको आमाले अध्ययन गरेको विद्यालय जनता माविले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विजेता सोनालीसँगै उनको आमा शारदा राउत, बुवा राजेश राजभण्डारी लगायतलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मेयर लामाले सोनालीलाई नेपाली झण्डा ओढाए र नेपाली शान भोजपुरे खुकुरी प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा सोनालीले आफ्नो गायन प्रस्तुत गरेकी थिइन् ।









प्रतिक्रिया