१६ असार २०८३, मंगलबार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन स्वीकृति

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३० साउन । मकवानपुरको हेटौंडा स्वास्थ्य शिक्षाको हबको दिशामा अगाडि बढेको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडाको नामलाई फैलाउन मद्दत पुग्ने देखिएको छ ।

प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् । बीएस्सी नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्‍याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रम भने २०/२० सिट कायम रहेका छन् ।

यस्तै, ब्याचलर अफ फार्मेसी कार्यक्रम ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ । स्नातक तहका यी कार्यक्रमहरूसँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ । यसै शैक्षिक वर्षदेखि एमडीको सात वटा विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग , फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेको छ ।

चिकित्सा अध्ययनका लागि आफ्नै प्रदेशमै अवसरका साथै देशभरका विद्यार्थीहरूलाई आकर्षित गर्ने सम्भावना पनि बढाएको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

पूर्वमुख्यमन्त्री पौडेलले भने, ‘मुख्यमन्त्री हुँदा सुरुवात गरेको यो प्रतिष्ठानले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न अब धेरै समय लाग्दैन ।’

स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रूपमा स्थापित हुने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताए । प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा, र आधुनिक अनुसन्धान प्रवर्द्धन गर्दै आएको पनि उनले जानकारी दिए ।

प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा छिमेकी प्रदेशको समेत उपचारका लागि आउने गरेको प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले जानकारी दिए । अहिले उपचारका लागि दैनिक १ हजार ५ सय भन्दा बढीले सेवा लिइरहेका छन् । प्रतिष्ठानबाट बागमती प्रदेशले मात्र होइन, देशभरका नागरिकले दीर्घकालीन लाभ लिन सक्ने डा. ज्ञवालीको भनाई छ ।

प्रदेशकै गौरवको आयोजना २०७६ मा प्रदेश सभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको एक वर्ष पछि प्रतिष्ठानमा २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त गरी कार्य प्रारम्भ गरिएको थियो ।