३० जेष्ठ २०८३, शनिबार

बाढीले पुल र सडक बगाउँदा टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुट्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दार्चुला, २९ साउन । अविरल वर्षाका कारण व्यास गाउँपालिका–१ टिङ्कर खोलामा बुधबार राती आएको बाढीले काठे पुल र सडक बगाउँदा नेपालको अन्तिम गाउँ टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुटेको छ ।

बुधबार राती करीब ८ बजेतिर आएको बाढीले छाङरु र टिङ्करका तीन वटा काठे पुल र सडक बगाएको स्थानीय जनकसिंह धामीले जानकारी दिए । खोलामा आएको बाढीको त्रासले छाङरुस्थित गागामा रहेको सशस्त्र प्रहरी बलको गुल्म, नेपाली सेना र स्थानीयले सुत्न समेत नपाएको उनको भनाइ छ ।

छाङरुको गागामा रहेको काठेपुल, अपिनाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट जाने नाम्पा खोलामा रहेको काठेपुल र छाङरुबाट टिङ्कर जाने काठेपुल बगाएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म छाङरुका सूचना अधिकारी लालबहादुर नेगीले जानकारी दिए ।

बाढीका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए । काठेपुल बगाउँदा छाङ्रुबाट टिङ्कर गाउँ जान सकिएको छैन । टिङ्कर गाउँमा फोन सम्पर्क समेत हुन् नसक्दा बाढीले गरेको क्षतिको विवरण समेत जानकारीमा नआएको बताइएको छ । दार्चुलामा बुधबार दिउँसो देखी लगातार वर्षा भइरहेको छ ।