२९ जेष्ठ २०८३, शुक्रबार

फूल उत्पादनमा वृद्धि हुँदा आयात घट्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, २८ साउन । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा २७ करोड ६९ लाख रुपैयाँ बराबरको फूल आयात गरिएकोमा गएको आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको नेपाल फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

एशोसिएशका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा १५ करोड रुपैयाँले आयातमा कमी आएको छ । आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख रुपैयाँ बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गएको आर्थिक वर्षमा दुई करोड १३ लाखको निर्यात भएको छ ।

जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा फूल निर्यात हुने गरेको छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रूपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्णरूपमा आयात रोक्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुरलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ ।