
काठमाडौं, २८ साउन । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (सालिको)ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ४६ करोड ९ लाख रुपैयाँभन्दा १२.५३ प्रतिशत कम हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर १७ रुपैयाँ ५८ पैसाबाट घटेर १५ रुपैयाँ ३७ पैसामा पुगेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ कायम रहँदा विपत्ति कोष २१.३४ प्रतिशतले बढेर २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा ९.२५ प्रतिशतले घटेर ३६ करोड ६५ लाख रुपैयाँमा झरेको छ भने अन्य इक्विटी १३.५७ प्रतिशतले बढेर ५० करोड २३ लाख रुपैयाँ पुगेको छ । कुल लगानी ४.९७ प्रतिशत बढ्दै ६ अर्ब ७२ करोड रुपैयाँमा पुगेको छ भने बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद प्रिमियम आम्दानी २२.८६ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । तर, लगानी, ऋण तथा अन्य स्रोतबाटको आम्दानी २८.६४ प्रतिशत घट्दै ३४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । सोही अवधिमा खुद दाबी भुक्तानी ३०.७१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कमिशन खर्च ४८.७६ प्रतिशतले बढ्दै ५ करोड ६९ लाख रुपैयाँमा पुगेको छ । कर्मचारी लाभ खर्च ७.२० प्रतिशत घटेर ५६ करोड ४३ लाख रुपैयाँमा पुगे पनि अन्य सञ्चालन खर्च १८.४५ प्रतिशतले बढेर १७ करोड ९ लाख रुपैयाँमा पुगेको छ ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ७२ पैसाबाट बढेर २३९ रुपैयाँ १२ पैसामा पुगेको छ । मूल्य आम्दानी अनुपात ४७.२२ गुणा र सॉल्भेन्सी अनुपात २.७५ गुणामा कायम रहँदा कम्पनीको वित्तीय स्थायित्व बलियो रहेको संकेत गरेको छ ।








प्रतिक्रिया