
पाँचथर, २७ साउन । आर्थिक वर्ष २०८१/८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् ।
विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए ।
घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
गत आवमा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ । यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर ६–६ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर दुई–दुई जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए । यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट र पहिरोमा परेर एक–एक जनाको ज्यान गएको छ ।
गत वर्ष पाँचथर प्रहरीमा २३२ वटा मुद्दा दर्ता भएका छन्,जसमा सबैभन्दा बढी भवितव्य ज्यानका ६२ वटा छन् । यस्तै आत्महत्याका घटनालाई समेत प्रहरीले मुद्दाका रूपमा दर्ता गर्ने गरेको छ । गत वर्ष आत्महत्याका ४८ तथा अभद्र व्यवहारका २७ वटा मुद्दा दर्ता भएका छन् ।
विगतका चार आवमा मुद्दा दर्ता सङ्ख्या करिब स्थिर रहेको प्रनाउ बुढाथोकीले जानकारी दिए । आव २०७८/७९ मा २३५ वटा, २०७९/ ८० मा २३४ र २०८०/८१ मा २३७ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । पाँचथर प्रहरीले जिल्लामा अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना निर्माण गरी काम गर्दै आएको प्रनाउ बुढाथोकीले जानकारी दिए ।







प्रतिक्रिया