
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह, चाहना र सोचका आधारमा सरकारले उद्यमशीलताको विकासमा ध्यान दिएको उल्लेख गरे । उनले युवालाई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
‘युवाको ऊर्जा, सिर्जनशीलता र नवप्रवर्तनबाटै समृद्धिको आकांक्षा पूरा गर्न सक्छौँ । सकारात्मक सोच र निरन्तरको प्रयासले मात्र समृद्धिको सपना पूरा हुने भएकाले यस अभियानमा सबै मिलेर अघि बढ्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा भनिएको छ, ‘युवाहरू भविष्यका आधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् । युवाहरूको उत्साह र जोशलाई उत्पादनमा जोड्नु नितान्त आवश्यक छ ।’
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले युवाको सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्टार्टअप योजनामा विशेष ध्यान दिएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उत्पादनमुखी र रोजगारीमुखी कार्यमा संलग्न गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।








प्रतिक्रिया