
काठमाडौं, २६ साउन । भारतका पूर्वकप्तान रोहित शर्मा र विराट कोहलीले पहिले नै टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरिसकेका छन् ।
अब दुवैजना अक्टोबरमा हुने अस्ट्रेलिया भ्रमणपछि एकदिवसीय क्रिकेटबाट पनि विदा लिने तयारीमा रहेको बताइन्छ । अस्ट्रेलिया भ्रमणमा तीन वटा एकदिवसीय र पाँच वटा टी–२० सिरिज हुनेछ । त्यसपछि रोहित र विराटले आफ्नो अन्तिम एकदिवसीय सिरिज खेल्न सक्ने अनुमान गरिएको छ ।
भारतीय टोली व्यवस्थापनले २०२७ को विश्वकप योजनामा दुवैलाई प्राथमिकतामा राखेको छैन । एकदिवसीय टोलीमा रहन दुवैलाई घरेलु क्रिकेट खेल्नुपर्ने हुन सक्छ ।
यस विषयमा भारतका पूर्वकप्तान सौरव गांगुलीले प्रतिक्रिया दिँदै भने, ‘मलाई यसको जानकारी छैन । म कुनै टिप्पणी गर्न सक्दिनँ । यो भन्न गाह्रो छ, तर जो राम्रो खेल्छ उसले खेल्ने मौका पाउँछ । यदि उनीहरूले राम्रो प्रदर्शन गरे भने खेलिराख्नु पर्छ । विराटको वनडे रेकर्ड अद्भुत छ, रोहितको पनि त्यस्तै हो । दुवै सीमित ओभरको क्रिकेटमा उत्कृष्ट छन् ।’
भारतको अस्ट्रेलिया भ्रमण अक्टोबर १९ बाट सुरु हुनेछ । टी–२० खेल पर्थ, एडिलेड र सिड्नीमा हुनेछन्। त्यसपछि डिसेम्बरमा भारतले दक्षिण अफ्रिकासँग तीन घरेलु एकदिवसीय खेल्नेछ । सन् २०२६ को तालिकामा न्यूजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्धका एकदिवसीय सिरिज पनि समावेश छन् ।









प्रतिक्रिया