२२ असार २०८३, सोमबार

इजरायली आक्रमणमा पाँच जना पत्रकारको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अलजजिरा पत्रकारको मृत्यु भएको छ । घटनाबारे अलजजिरा समाचार संस्थाले पुष्टि गरेको हो ।

मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा रहेका छन् । उनीहरू अस्पतालको मुख्य गेट नजिक पत्रकारहरूको लागि बनाइएको टेन्टमा रहेका बेला लक्षित आक्रमण भएको अलजजिराले जनाएको छ ।

अलजजिराले यस आक्रमणलाई ‘पत्रकारितामाथिको पूर्वनियोजित र स्पष्ट आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

इजरायली रक्षा बलले आक्रमणपछिको टेलिग्राम पोस्टमा अनस अल–शरीफलाई हमासको एक आतङ्ककारी सेलको प्रमुख भएको आरोप लगाउँदै उनीमाथि लक्षित कारबाही गरिएको पुष्टि गरेको छ । अन्य पत्रकारहरूबारे भने कुनै टिप्पणी गरेको छैन ।

अलजजिराको अनुसार, आक्रमणमा कूल सात जनाको मृत्यु भएको छ । सुरुमा संस्थाले चार पत्रकारको मृत्यु पुष्टि गरे पनि केही घण्टापछि मृतकको संख्या पाँच पुगेको जनाएको छ । गत महिना अलजजिरा, संयुक्त राष्ट्रसंघ, र पत्रकार सुरक्षा समितिले संयुक्त रूपमा अल–शरीफको सुरक्षाका लागि अपिल गरेका थिए ।

पत्रकार सुरक्षा समितिका अनुसार, अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरु भएदेखि गाजा क्षेत्रमा हालसम्म कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ ।