
काडमाडौं, २५ साउन । यो वर्ष मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य सङ्घर्षपश्चात् भविष्यका युद्धको तयारीको रणनीतिस्वरूप भारतीय स्थल सेनाले आफ्ना विभिन्न अङ्गहरूका लागि विशेष ’ड्रोन बटालियन’ बनाउने निर्णय गरेको छ ।
यस रणनीति अन्तर्गत स्थल सेनाको आर्टिलरी, इन्फन्ट्री तथा आर्मर्ड डिभिजनहरूमा एक–एक वटा ड्रोन युनिट बनाइने छ । यी नयाँ एकाइहरूको काम केवल ड्रोन सञ्चालन गर्नु रहेको छ । अधिकारीहरूका अनुसार यसका निम्ति सैनिक अफिसरहरूलाई छुट्टै विभिन्न अपरेशनका उच्चस्तरीय प्रशिक्षण दिइने छ ।
जुलाई २६ मा ’कारगिल विजय दिवस’को अवसरमा भारतका स्थल सेनाका प्रमुख उपेन्द्र द्विबेदीले सेनामा ३० लाइट कमान्डो बटालियन र ड्रोनसहित सबै अस्त्र तथा उपकरणले लैस ’रुद्र ब्रिगेड’ बनाउने घोषणा गरेका थिए ।
ड्रोन बटालियनले के काम गर्नेछ?
ड्रोन बटालियन बनाउने रणनीति भारतीय सेनाको आधुनिकीकरण तथा यसका तीनै अङ्गमा समन्वयको व्यापक योजनाको एउटा हिस्सा हो । रक्षा विश्लेषक राहुल बेदी भन्छन् ड्रोन बटालियनको चर्चा पहिले देखि नै चलिरहेको थियो ।
जुलाई २६ मा ’कारगिल विजय दिवस’को अवसरमा भारतीय सेनामा ड्रोन बटालियन बनाउने घोषणा गरिएको थियो । द्विबेदी भन्छन्, “अपरेशन सिन्दूरपछि ड्रोनलाई सेनामा कम्ब्याट युनिटजस्तै गरी सामेल गर्नु एउटा व्यापक रणनीतिको हिस्सा बन्न पुग्यो । पछिल्लो दश वर्षमा भएका युद्ध, चाहे हाल जारी युक्रेन–रुस युद्ध होस् वा अजरबैजानको युद्ध होस् वा इजरेल, लेबनन र इरानबीच भएका लडाइँ होस्, यी सबैमा ड्रोनको प्रयोग ठूलो सङ्ख्या र धेरै प्रभावकारीताका साथ भए ।“
“ड्रोनको एउटा विशेषता के पनि छ भने यो सामान्यतया सस्तो हुन्छ र यिनलाई अर्बौँ रुपैयाँ पर्ने ट्याङ्कहरूलाई नष्ट गर्न प्रयोग गरिन्छ । त्यसैले यसलाई एक सस्तो र प्रभावशाली हतियारका रूपमा हेरिएको छ ।“
राहुल बेदी भन्छन् भारतीय सेनाले अब ड्रोनका निम्ति विशेष ब्रिगेड बनाउँदै छ । जसमा २५ देखि १०० सैनिक तथा प्राविधिक विशेषज्ञहरूलाई केवल ड्रोन सञ्चालनको जिम्मा दिइने छ ।
उनी भन्छन्, “ड्रोन दुई थरी हुन्छन् । एकथरी आक्रामक, अट्याक ड्रोन र अर्कोथरी निगरानी, सर्विलन्स ड्रोन अर्थात् सूचना सङ्कलन गर्न खुफिया उडान भर्ने । सर्विलन्स ड्रोनले निशाना कहाँ छ भनेर पत्तो पाउँछ अनि अट्याक ड्रोनलाई सङ्केत दिन्छ। अट्याक ड्रोन एक्लै वा २०–२५ ड्रोनका झुन्डमा उडेर उक्त निशानामा हमला गर्छ ।“









प्रतिक्रिया