
काठमाडौं, २५ साउन । भारतले पाकिस्तानसँगको युद्धका बेला पाकिस्तानको ६ वटा लडाकू विमान खसालेको दाबी गरेको छ । गत मे महिनामा चार दिनसम्म चलेको भारत–पाकिस्तान युद्धमा पाकिस्तानको पाँचवटा लडाकू विमान र एउटा ठूलो सैन्य विमान खसालेको दाबी भारतीय वायुसेनाका प्रमुख अमरप्रित सिंहले गरेका हुन् ।
शनिबार बेंग्लुरूमा भएको एक समारोहमा सम्बोधन गर्ने क्रममा वायुसेना प्रमुख सिंहले भारत पाकिस्तानबीच दशकौंपछिको सबैभन्दा ठूलो सैन्य भिडन्त भएको र त्यस क्रममा ६ वटा लडाकू विमान खसालिएको बताएका हुन् ।
’पाँचवटा लडाकु विमान खसालिएको पक्का प्रमाण हामीसँग छ, साथै एउटा ठूलो विमान पनि खसालिएको हो,’ उनले भनेका छन् । ठूलो लडाकू विमान भन्नाले सम्भवतः निगरानी (सर्भिलेन्स) विमान हुनसक्ने उनले बताएका छन् । त्यसलाई ३०० किलोमिटर टाढाबाट प्रहार गरेर खसालिएको वायुसेना प्रमुखले बताएका छन् ।
सिंहले ती विमानहरू रूसमा निर्मित एस–४०० सर्फेस् टु एयर मिसाइलले खसालिएको भनेका छन् । ’यो सबैभन्दा ठूलो दूरीको विमान खसाल्ने रेकर्ड हो,’ वायुसेना अधिकृत, पूर्वसैनिक, सरकारी तथा औद्योगिक क्षेत्रका व्यक्तिहरू उपस्थित कार्यक्रममा सिंहले भने ।
उनले हवाइ आक्रमणमार्फत दक्षिण–पूर्वी भागमा रहेका दुई हवाई अड्डामा पार्क गरिएका केही एफ–१६ लडाकु विमान र अर्को निगरानी विमानमा पनि प्रहार गरेको बताए ।
पाकिस्तानले भने भारतको उक्त दाबीको खण्डन गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफले भारतले एउटा पनि लडाकू विमान नखसालेको भनेका छन् । ’यस्तो कुनै घटना भएको छैन। भारतले एउटा पनि पाकिस्तानी विमान खसालेको छैन,’ उनले भनेका छन् ।
रक्षामन्त्री ख्वाजाले भारतीय वायुसेनाप्रमुखले राजनीतिक लाभका लागि हास्यास्पद कथा बनाएको बताए । उनले दुवै देशको सैन्य र लडाकू विमानहरूको सूची स्वतन्त्र रूपले जाँच गर्न चुनौती पनि दिए ।
’यसरी गर्दा भारतको वास्तविकता खुल्छ । यस्ता अभिव्यक्तिहरूले परमाणु हतियार भएको वातावरणमा गम्भीर रणनीतिक गल्तीको जोखिम बढाउँछ,’ उनले भने ।
पाकिस्तानले पनि भारतको ६ वटा लडाकू विमान खसालेको दाबी यसअघि नै गरेको थियो । जसमा फ्रान्स निर्मित राफेल लडाकु विमान पनि समावेश छ । भारतले केही विमान गुमाएको स्वीकार गरे पनि ६ वटा गुमाएको कुरा अस्वीकार गर्दै आएको छ ।















प्रतिक्रिया